जहाँ गए पनि आंखैमा बसिरहने
बादलको घुम्टो भित्र पनि लुकी हाँसेको भान हुने
गोरेटोमा पनि संगै हिंडे झैं लाग्ने
आफ्नो छायाँ जस्तै
आफ्नै प्रेयसी जस्तै
पटक पटक उसैतिर फर्केर आश्वासित हुनुपर्ने
मक्ख हुनुपर्ने
हाम्रो आफन्ती भएको छ हिमाल
हाम्रो दिनचर्यामा घुलेको छ हिमाल
कहिलेकाहीं मनका कुरा हुन्छन हिमालसँग
हिमाल पनि पुग्ने ठाउँ हो भनेर
हिउँ पनि खेल्ने चिज हो भनेर
विदेशीले हामीलाई भने रे
त्यसपछि हामीले विदेशीलाई भन्यौं रे
हिमालको काखैमा बस्ने भएर हो कि
हामीले आफैंलाई चाहिं शायद भनेनौं आजसम्म
हिमालको बिशालतालाई असत्कार अपत्यार त गरेनौं ?
एक सगर हिउँ खन्याएर
केटाकेटीहरु
नजिकै एउटा हिमाल बनाउन चाहन्छन
शुक्रबारको आधि छुट्टी पछि
झोलाहरु बिसाएर
हिउँको चिप्लेटीमा रमाउन चाहन्छन
अचेल मलाई यस्तो लाग्छ
ससाना पैतालाहरुलाई हिमाल टाढा भएको छ
ससाना रहरहरुलाई हिमाल दुर्लभ भएको छ
चौरपारी खोलासंगैको चुच्चे ढुंगाको थुम्की जस्तै
खेतका गराबीचको पराले कुन्युजस्तै
हिमाललाई नजिक्याउन
हिमालसँग मितेरी लाउन
हिमालसम्म पुर्याउने
एउटा गोरेटो चाहिएको छ
No comments:
Post a Comment