Thursday, August 1, 2013

नयाँ बर्ष

नयाँ बर्ष
हिंजो राति
ठीक बाह्र बजे
माछापुछ्रे
तिमी र म मुखामुख गरिरह्यौं
तिम्रो शालीन चेहरामा
मुस्काहटका बिशाल सम्भावनाहरु छँदाछँदै पनि
खामोशीका, बेचैनीका
पीडाका, गुम्स्याहटका
मन्द छायाँहरु
तिमीलाई शायद रोकिरहेका थिए
शायद दिल दुखिरहेको थियो तिम्रो कतै
त्यसबाट आल्हादित
मेरो सशंकित नजरलाई हेर्दै
तिमी भन्दै थियौ –
कतै उडुं जस्तो लागिरहेछ
सधैं स्थिर रहिरहनु कत्ति कष्टप्रद छ
सधैं जड भइरहनु कत्ति नियाश्रो छ 
उसमाथि यो धमलिँदै गएको आफ्नो ऐनामा
प्रतिदिन आफ्नो रुप हेर्नु कत्ति चस्किँदो छ
माछापुछ्रे,
तिम्रो दु:ख
तिम्रो गाउँलेको नाता मैले बुझ्नुपर्ने
तिम्रो पीडा
तिम्रो प्रशंशकको नाता मैले चिन्नुपर्ने
खासमा
तिमीमा आश्रित भएको नाता
तिम्रो दु:ख मेरो दुख हुनुपर्ने
तिमी रुंदा म रुनुपर्ने
आज नयाँ बर्षको प्रथम दिन
तिम्रो आँशु मैले धुनुपर्ने
र भन्नुपर्ने थियो –
फेरि तिमीले कहिल्यै रुनुपर्ने छैन
अफशोच
आँशु हरुले पनि मलाई पत्याएनन
खुशी हरुले त कहिले पैयाँ कसे
दु:खहरुले पनि मलाई रुवाएनन्
खाली एकछिन तिमीलाई हेरुन्जेल
तिम्रो व्यग्रताको, तिम्रो चाहनाको
तिम्रो पीडाको, तिम्रो तिक्तताको 
समाधान पनि होला भन्ठान्छु
त्यस्तो दिन पनि आउला भन्ठान्छु
यसरी नै धेरै हिउँदहरु बिते
यसरी नै धेरै बसन्तहरु बिते
आज फेरि उसरी नै
बासी आशा हरुलाई ताजा थालीमा पस्केर
नयाँ बर्ष शुरु भएको छ
मलाई कहिल्यै अनुभूति भएन तिम्रो दर्दको
मलाई कहिल्यै चस्केन तिम्रो दुखाई
मलाई माफ गर माछापुछ्रे
यो नदुख्ने मुटु नफेरेसम्म
यो भित्रि आँखाले नहेरेसम्म
यसरी पटक पटक
मलाई एकटक हेरेर नसताऊ
तिम्रो उत्कन्ठाको साक्षीको रुपमा
मलाई नपत्याऊ
-----------------------------------------------
हुन त म पाइतालाहरुले हिंड्नसक्ने मान्छे
हुन त म पाखुरीहरुले बाँच्न सक्ने मान्छे
मनको राजमार्गमा बिश्वासलाई कुदाएर
धेरै पर पुगिसक्नुपर्ने थियो
धेरै बाटो हिंडीसक्नुपर्ने थियो
अझै पनि
यसरी जहाँको तहीं नउभिएर
निराशाको खोलभित्र नगुम्सिएर
आफ्ना सामर्थ्यहरुलाई बाल्न सके
टाढा टाढाको गन्तब्य देखिँदो हो
दूर क्षितिजको इन्द्रेणी भेटिँदो हो
सकें भने माछापुछ्रे,
यसपालिदेखि भत्किएका खण्डहरहरुबाट जग उठाउँला
चोइटिएका सपनाहरुलाई टाल्दै जाउँला
धैर्य गर माछापुच्छ्रे
अर्कोपल्ट यतिबेलै
तिम्रो घाउमा मल्हम लगाएर
पुरै निको पार्ने बाँचा सुनाउँला
स्वर्णिम बिहानीको कान्ति बोकेर
तिमीलाई सौगात चढाउँला |

पत्थरको कहानी...................

पत्थरको कहानी...................

पत्थरको कहानी लेख्न
आफैं पत्थर भएर हेर्नुपर्छ
तिम्रा भित्ताहरुमा टकराउन आयो भनेर
पत्थरलाई उपद्रबी नसम्झनु
तिम्रा पाउहरुमा ठेस लगायो भनेर
पत्थरलाई धुलो पार्ने छिनो नचलाउनु
तिम्रो घर पनि पत्थरहरुकै जगमाथि उभिएको छ
तिम्रो खेत पनि पत्थरकै सिरानीमा अडिएको छ 
पत्थरहरुप्रति निष्ठुर नहुनु
पहिरो – पत्थरको बाध्यता
बगर – पत्थरको अनिच्छा
पत्थरले नचाहेरै पनि
धरहरा हरु भत्केका छन्
धरान उदयपुर चर्केका छन्
पत्थरको मर्म बुझ्न
आफू पत्थर बनेर भोग्नुपर्छ
पत्थर सधैं शालिग्राम र शिवलिंग भएर पुजिएको छैन
पत्थर अचानो र लोहोरो पनि बनेको छ
भारहरु सहेर पिसिएको पनि छ
आफ्नै अस्तित्वको ठेगान नहुँदासम्म
बाँधहरु बनेर अडिएको छ
साँधहरु बनेर उभिएको छ
पत्थरका व्यथालाई भुलेर
सस्ता कथाहरु नलेख्नु
पत्थरको पनि आफ्नो
धैर्य हुन्छ भन्ने बझ्नु
कम्पन - पत्थरको चरम असन्तुष्टि
ज्वलन पत्थरको चरम उत्पीडन
पत्थरलाई पनि तापले पोल्छ भन्ने नबिर्सनु
पत्थरलाई पनि चापले दुख्छ भन्ने नभुल्नु
मोति पनि त पत्थरले मुटुभित्र साँचेको हुन्छ
ज्योति पनि त पत्थरकै गर्भ भित्र राखेको हुन्छ
पत्थर पृथ्वी हो
तिम्रा गोरेटा हरुमा बिछ्याईने ढुंगा मात्रै होइन
पत्थर गोरख काली र सगरमाथा पनि हो
पत्थरको दिल नदुखाउ
पत्थर भीमसेन र बज्र पनि हो

पत्थरको नियति बुझ्न
आफैं पत्थर भएर सम्झनुपर्छ
पत्थरको कहानी लेख्न
आफैं पत्थर भएर हेर्नुपर्छ |

पानीसंगै.......

पानीसंगै.......
पानीसंगै आफ्नो मन पनि बगायो भने 
कहाँ कहाँ पुगिने होला
कसलाई भेटिने होला
एकपल्ट पानी भैजान मन भएको छ
थोपा थोपा भएर
तप्प चुहिन मन भएको छ
फोका फोका भएर
भित्रैबाट गुडुल्किदै उठ्दै
प्वाट्ट फुट्न मन भएको छ
निकै रमाइलो छ बयेली खेल्न
भुमरी भएर घुम्दै घुम्दै
स्वाट्ट भाग्न मन भएको छ
साउने भेलले रंग हरु थपिदिँदा
बच्चाहरुले झैं गोटी थुपार्दै
ठुल्ठुला पत्थरहरुसंग
जिद्दी लडाउन मन भएको छ
कुरी बस्नु त्यति मजा नहोला
अक्कर किनार पत्थर पहाड
छाम्दै दगुर्न मन भएको छ
रुकीइयो भने त बाफ भइन्छ
अल्झिईयो भने त दुषित भईन्छ
बरु कुहिरो बादल भएर
माथि पुग्न रहर भएको छ
बतासको काँधमा सबार भएर
आकाश आकाश कुद्न रहर भएको छ
चिसीइनु कठाँग्रिनु त मन होइन
उज्याला मोतिका दाना बनेर
पहाडहरु माथि राश लाउनु
चौर मैदानमा च्यादर बिछयाउनु
एउटा साहसको कुरा हो
एउटा बिजयको उन्माद हो
बर्षात भएर छतमा, रुखमा
बिजुलीका खम्बाहरुमा
अन्तर कुन्तरबाट हेर्दै आउनु
बलेंसी चुहाउँदै गीत गाउनु
साँच्चिकै ठूलो इच्छा भएको छ
भर्खर खनेको बारीभित्र
आत्मियताको न्यानो समेटेर
रुखका जराबाट माथि घुसेर
नशा नशा छाम्न मन भएको छ
एकपल्ट पानी भएर
गरा गरा चाहार्न मन भएको छ
आली आली फड्का मार्न मन भएको छ
छहरा भएर पहराहरुबाट
कहालिंदै खस्न त गाह्रै पर्ला
मैदानसम्मको आफ्नो यात्रामा
आफुलाई समर्पण गर्न मन भएको छ
एकपल्ट पानी भैजान मन भएको छ
कर्कलाको पातमा ध्यानमग्न बसेर
घामसंगै बिलाई जान मन भएको छ |

Friday, March 9, 2012

शरद आभास

शान्त तलाउमा 
मन्द बतासले लहरहरु पैदा गर्यो  
घामका कोमल औंलाहरुले 
गितारका तार सम्झेर तिनलाई चलाउंदा 
रनन मधुर मालसिरी घन्क्यो    
रुखहरु झुमे, 
र छेवैको बस्तीमा 
रातै पोतेका घरका भित्ताहरुमा  
बच्चाबच्चीहरु छम छम नाचे झैं 
आकृति सल्बलायो किरणहरुको 
शायद यही होला 
यो बर्षको 
शरद आगमन

कविताको डालो

थाप
पटुका या पछ्यौरी जे सुकैमा थाप 
रुमाल भएदेखि त्यसैमा थाप 
म रित्याउन चाहन्छु 
यो कविताको डालो 
यहाँ केहि कमसल कविताहरु छन् 
पिंधमा छरपष्ट छरिएका 
केहि खुद्रा भावनाहरु पनि छन् 
र यसको भित्तामा, चोयाको कापमा अल्झेका  
केहि शिर्षकहरु मात्रै पनि छन् 
 थाप 
पत्रिकामा थाप या पातमा थाप 
पसरमै पनि हुन्छ, थाप 
म टकटकाउन चाहन्छु 
यो कविताको डालो 
यी छउन्जेल 
राम्रा कविता लेख्नलाई    
कुनै नयाँ विचार आउन दिएनन्

फूल,पात र बतास

नडराउनु कालसँग
डराउनु अकालसंग हो 
काल मन्द हावाजस्तो हो 
बगिरहने, चलिरहने 
यसको प्रवाहसंगै  
जरा पलाउँछन  
टुसा निस्कन्छन 
हाँगा पलाउँछन्   
पात छिप्पिन्छन 
र अग्लो 
ठूलो
प्यारो बन्दै 
फैलिन्छ र झ्यांगिन्छ रुख 
फेरि पातहरु पहेंलिने
झर्ने 
ससानो हावामा पनि 
बृद्ध हाँगाहरु टक्रक्क खस्ने 
त्यो पनि काल नै हो 
बिल्कुल साधारण, बिल्कुल प्राकृत 
अकाल त हुरी पो हो 
हरिया पातहरु झार्ने
कलिला डांठहरु भाँच्ने 
लछार्ने , पछार्ने र चोइट्याउने  
वच यससंग 
डराउनुपर्छ अकालसंग 
नडराउ कालसँग  

पोखरी र पीर

ठीकै भयो, 
तिम्रा कठोर शब्दहरुले आहत भएको दिन 
झरी पर्यो
र फेरि झ्यालबाहिर हेरेर बसिरहें 
टम्म पोखरी थियो
चारैतिरबाट पर्खाल बाँधेको 
सोचें, मेरा पीरहरु पनि 
यसरी नै अडिएका छन्
मनको पर्खालमा घेरिएर 
पोखिएभने देखिंदा हुन् नि 
कतिसम्म धार काट्न सक्छन 
कतिसम्म छाल बोक्न सक्छन तिनले 
त्यो आँट नहुनाले पो   
शान्त  छु, यहि  तलाउ झैं 
अहिले मेरा हकमा 
न झोंकले झन्डा गाड्छ   
न जिद्दीले जित्छ 
न पीरले निकास पाउँछ
सब कुरा नाकाम बनेपछि
यो पोखरी नै मेरो सान्त्वना बनेको छ,  
तिमी भन्छौ नि- 
मान्छेको मनमा कुनै पिर भए पो
पोखरीमा ऐना हेर्नेले 
आफ्नो पो पीरैपीर देख्छ
पोखरीको कहाँ देख्छ र ?

कसरी म मेरा पीरहरुलाई 
रंगिन बट्टाभित्र तह तह भरेर  
तिम्रो अघिल्तिर थपक्क राखिदिउँ ?