तिम्रा कठोर शब्दहरुले आहत भएको दिन
झरी पर्यो
र फेरि झ्यालबाहिर हेरेर बसिरहें
टम्म पोखरी थियो,
चारैतिरबाट पर्खाल बाँधेको
सोचें, मेरा पीरहरु पनि
यसरी नै अडिएका छन्
मनको पर्खालमा घेरिएर
पोखिएभने देखिंदा हुन् नि
कतिसम्म धार काट्न सक्छन
कतिसम्म छाल बोक्न सक्छन तिनले
त्यो आँट नहुनाले पो
शान्त छु, यहि तलाउ झैं
अहिले मेरा हकमा
न झोंकले झन्डा गाड्छ
न जिद्दीले जित्छ
न पीरले निकास पाउँछ
सब कुरा नाकाम बनेपछि
यो पोखरी नै मेरो सान्त्वना बनेको छ,
तिमी भन्छौ नि-
‘मान्छेको मनमा कुनै पिर भए पो’
पोखरीमा ऐना हेर्नेले
आफ्नो पो पीरैपीर देख्छ
पोखरीको कहाँ देख्छ र ?
कसरी म मेरा पीरहरुलाई
रंगिन बट्टाभित्र तह तह भरेर
तिम्रो अघिल्तिर थपक्क राखिदिउँ ?
No comments:
Post a Comment