आदिकाल देखि
अविरल चलिरहेछ एउटा संकल्प
अनवरत चलिरहेछ एउटा प्रचेष्टा
कि उडूँ माथि चन्द्र तारा छुन
कि डुबूं सागरमा गहिराइसम्म
फूलहरु जस्तै बनूँ सुन्दर अकिंचन
पखेरुहरुजस्तै बनूँ मुक्त स्फूर्त
खाली झ्यालबाट सडकहरुतिर चियाएर मात्रै पुग्दैन
खाली छतबाट पहाड पर्बत हेरेर मात्रै पुग्दैन
आफैं हिड्दै जाने रहर हुन्छ
आफैं चढ्दै जाने रहर हुन्छ
पुराणका कथाहरुले मात्रै पुग्दैन
इतिहासका रहस्यहरुले मात्रै हुँदैन
आफैं केहि गर्ने आकांक्षाले
आफैं कोही बन्ने दृढ इच्छाले
मानिस पुस्तक बोकेर हिंडी रहेछ
मानिस फाइल च्यापेर हिंडी रहेछ
सत्य / सन्तृप्तिको खोजीमा
अनन्त देखिको लामो यात्रामा
मानिसभन्दा पनि शायद उसको मन हिंडीरहेछ
मानिसभन्दा पनि शायद उसको संकल्प कुदिरहेछ
कदम कदममा प्रश्नहरु जन्मे
कदम कदममा समाधानहरु निस्के
काँडाहरुले कस्लाई पो अल्झाई राख्न सकेको छ ?
गोरेटोले कस्लाई पो उभ्याई राख्न सकेको छ ?
बरु शुन्य आकाशलाई इन्द्रेणी रंगहरुले सजाउने
बरु बाँझो धर्तीलाई हराभरा उर्बराले ढाकिदिने
एउटा मोहक लालसाले
एउटा अनौठो उत्सुकताले
निरन्तर यात्रामा डोर्याईरहेछ
दौडन, अघि जान बोलाइरहेछ
त्यसैले
मानिस हिंडीरहेछ
मानिस भन्दा पनि शायद उसको मन हिंडीरहेछ
No comments:
Post a Comment