Thursday, July 28, 2011

एकपल्ट

एकपल्ट शैलपुत्री आमाडब्लम
ठण्डीमा धुँवाईएका माटाका चुच्चेघरहरु माथि 
हरिया कोणदार रुखहरुसंग मौन प्रश्न गर्छे  
प्रार्थनाचक्का घुमाउँदै, मालाहरु गन्दै 
'ओम मणिपद्मे' जपिरहेको त्यो हस्यौलो भोटेसाहिंला 
आँखा चिम्लेर पाहार तापिरहेको 
मुगाको माला लगाएको त्यो दोर्जेबा 
अथवा ढका टोपीमा फूल सिंउरेर 
घांटीमा मनकामनाको धजा उनेका कान्छीका हजुरबा,
वारीमा जतनपुर्बक  उमारेको अम्रिसो   
र आँगनमा यत्न पुर्बक  साहारेको तुलसा 
यसरि नै बाँच्दै बचाउँदै ,
नागहरुका समेत आशिर्वादले 
ढोकामा अक्षता पति र कुशको मुठा
ठेका, मदानी र गाई गोठको पुजा
विधिवत गरिएको हरेलो र लुतो पिरोको अबसान 
उखुवारी र लुकिडुम खेलिरहेका नानीहरु 
कतै खाली नाम्लो डोको र भूसा खरानी नबनुन
अहा ! ज्योति अर्पण सृष्टिकर्तालाई
नमस्कार, शालिग्राम र कुँदिएका चन्द्रसूर्यलाई ! 
एकपल्ट गंगाजी र गोसाइंकुण्ड 
खण्डहर किल्ला र खाँबाहरुतिर ताकेर 
कलिला घामले बिस्तारै ब्युंझाएका पाखाहरुतिर  
बिहानको रहस्यमय उज्यालोसंग सोध्न खोज्छन 
सेतो कुहिरो उठ्दै गरेको खोल्साहरूतिरबाट 
करुवामा पानि लिएर रामायण बाँच्दै आएका सानाबा 
सूर्यलाई अर्घो दिंदै खोलामा पानि भर्दै गरेकी ठुलीआमा 
कौशीमा बसेर कथा पढिरहेको रामचंद्रे 
बतासले मन्द मन्द हल्लाईरहेको पहेंलो फूल 
चउरमा अस्तिको वर्षापछि उम्रेको शिरु 
र उफ्रंदै फड्का मार्दै गरेको कृष्णेको भतिजो 
पाखुरीको रुखमा बसिरहेका एकजोडा ढुकुर 
आँगन सम्मै आइपुगेर जिस्काई उड्ने गौंथलीहरुको बथान  
पण्डित बा घन्टी बजाउंदै फर्कंदै हुन्छन मन्दिरबाट 
थालीको टिका लगाउन पछि पछि दौडंछन नानीहरु 
अहो ! कस्तो गाम्भीर्यता अक्षता प्रशादमा,
यसपाली पनि आलुवखडा झपक्कै फुलेको छ 
कटुसको रुखमुनी मूल फुट्न सुरु भएको छ 
साँझमा बगर किनार नहिंड्नु  रे, मसान लाग्ला 
अन्धकार भाग्न नपाउंदै 
सबेरै उठेर कोदालो र हँसिया बोकी हिंड्ने परम्परा 
दाउरा काट्ने र घाँस खसाउने प्रक्रिया 
कतै नियति र दुर्भाग्यले सधैं नगाँजून 
भोलि मछेन्द्र जात्रा छ नेपाल खाल्डोमा 
महिना भरिका माटोका भाँडा हरु बिकाउनु पर्ने रामचाका
आला ताजा मान्द्र भकारी बेच्नु पर्ने बीरबहादुरका 
र चुरी किन्नुपर्ने पार्वती फुपुलाई 
राजालाई हेर्न लस्करै बाटो छेउ उभिरहेकाछन मानिसहरु 
जल घडा  र ताली अभिवादनहरु  
भीमसेन थापाले बनाएको धरहरा र संगैको सुन्धारा 
बालाजुको बाइस धारा र गोदावरीको तीर्थ स्थान 
बौद्ध मास्तिर घुनुनु उडिरहेको हवाई जहाज 
शायद नेपालगंजको गर्मि लिएर फर्कंदै होला 
मोटर नदेखे पनि 
'हावाजाहाज' देखेकी छन मणिकी हजुरआमाले 
अक्षर नचिनेपनि 
स्वस्थानी सुनेकी छन संतेकी बज्यैले 
डम्फु बजाउँदै नाच्ने तामांग सेलो र 
ढोल बजाउंदै घ्याइं घ्याइं गर्ने लामाहरु 
कोप्चा अनुर्बर गल्छेडाहरुमा पनि बुकीफूल फुलेका 
पहिरो भत्केका पहाडमुनि  मानिसका बस्तीहरु  
कटान गर्दै धकेल्दै बग्ने खोला नदि छेउका उर्बर गराहरु 
र यो पालिको डढेलोले खंग्रंगै परेको घारिबन 
कतै आंधी बेहरी र सुक्खा खडेरीले धावा नगरोस 
एकपल्ट स्यांबोचे र मुक्तिनाथ 
पशुपति र स्वयम्भुसंग मुखामुख गर्दै 
काल भैरब र कुमारीको खबर सोध्छन 
ज्युँदै त छन् चन्दन र खरी बोटहरु 
पिपल र समीका चौताराहरु उस्तै छन्
खाली गमलामा फूल सारेर पुग्दैन मान्छेलाई 
बगैंचा चौरास्तामा घोरिएर मात्रै पनि हुँदैन मनलाई 
न त खबर कागजले तृप्ति हुन्छ सिर्जनालाई 
फुसका खरका छानाहरू र चुहिने घर 
रुखको छतमा चलेका स्कुल र कच्चा काठेपुल या तुहिन 
कुपोषण र दुर्व्यसन, 
बेपर्वाह कुल्चिइएका, निमोठिइएका हर्रो, बर्रो, बुटीबुट्यानहरु
लुकेर सुकेर हराएका देबकोटा, बांग्देलहरु
बिहे गरेर लाहुर पसेका तन्नेरी छोराहरु 
पराइको हातमा बेचिएका सानुमैयाहरु
सगरमाथाको अनुहारलाई अँध्यारो  पारिराखेका
र फेवाताललाई खिन्न बिच्छिन्न छाडिराखेका   
असिनाले धुजा धुजा च्यातिफालेका मकैका बोटहरु 
पोके किराले खोस्टा मात्रै राखेका रहरका गांजहरु 
मलजल नपुगेर पहेंलिएका काउलीका पात 
भाकल नपाएर चुर परेकी बनकाली 
र बिघ्न मच्चाई रहेका छन् झाँक्री कुलायनहरु 
यसैपालि खुट्टा भाँच्चियो हर्क बहादुरको 
लठेब्रो भयो रुमानेको छोरा 
सरुवारोगले गांज्दो छ एक एक गाउँलाई 
देबस्थानको पैयुँ रुख सुक्यो यसैपल्ट 
र मन्दिरबाट थाली चोरी भयो  
एकाबिहानै काग कराउन आइपुग्छ सिमलको रुखमा 
नरमाइलो विरह गाइरहन्छ कोइली 
र स्याल कराउँछन् मध्यरात्रिमा, बिराला रुन्छन 
गिद्धहरु लुछाचुंडी गरिरहन्छन सिनोहरुमा 
कस्तो उराठलाग्दो उजाड देखिन्छ यो धर्ती
एकपल्ट चन्द्रमा र माछापुच्छ्रे 
सल्लेरी र साँफे बगरसंग 
देउखुरी र सल्यानटारसंग  
पालैपालो सबेर हुने समय सोध्छन 
अन्धकार रात्रिको अबसान खोज्छन 
ढुंगे पर्खालका खोप्चाहरुमा झपक्कै लालुपाते फुलेको  
ठोट्ने खोलाको अँध्यारो भीरमा लालीगुराँस मस्केको 
फेरी देउसी र देउडा 
भजन र रोदी 
तीज र तिहार 
छठ र होलि 
कोशी कर्णाली घर-घरमा तार-तारहरुमा झलमल्ल 
उल्लु लुक्ने भीरहरुबाट पनि नहर, राजमार्ग 
अबदेखि निधारबाट पतेनाम्लोको दाग मेटिने भो हरिश्चंद्रे 
अबदेखि साहु मुखियाको हैकम टुट्यो यो गाउँमा 
टारिका आलिहरु पनि रसाउने भए अबदेखि 
बारीको तोरी बेचेरै पनि ६ बीस कमाइन्छ, यो बर्खा 
र भुन्टेलाई स्कुल भर्ना गरिदिनुपर्ला 
गाग्री बोकेर बिहान बिताउन नपर्ला रमोलालाई पनि 
पाठशालाको नजिकै एउटा धारो आउने भो रे 
चाँप सिसौ हुर्काउनु पर्यो खोल्साहरुमा 
एउटा नयाँ घर तुल्याउनु पर्यो जसरी भएपनि  
फेरि एकपल्ट
अन्नपूर्णको सपना सत्यबतीमा छचल्किन्छ, 
कन्चन जंघाको वतास मुगुतालसम्म सोद्धै जान्छ, 
उज्याला आँखाहरुमा अश्रुधारा कहिल्यै नबगुन  | 

No comments:

Post a Comment