बर्षा भैरहेछ
छडके कोण पारेर
झ्यालबाट
आकाशतिर बादलहरुतिर चियाउदा
आंपका पातहरुमा पट पट बजिरहेको पानी
र बलेंसिमा चुहिरहेको स्यार्र स्यार्र
फूलहरूमाथिबाट बिस्तारै कुदिजाने बतास
अध्यारो र उज्यालोको दोसांधमा
ओत लाग्न भुर्र उडी आउछन चराहरु
र बिस्तारै पिंग खेल्छन नरिवलका पातहरु
मौन भएर पनि कति संगीतपूर्ण छ आजको दिन
फेरी मलाई मेरो गाउँ को याद आउछ
असार साउनको सम्झना हुन्छ
स्याखु ओढेर धान रोप्दै होलान रोपाहारहरु
पानी छहलीइरहेको होला खेतका आलिहरुबाट
र राग घंकिदै होला असारे गीतको
मूल फुटे होलान चौर पाखाहरुमा
र पातहरु बगाएर कुलो पछ्याउदै होलान केटा केटीहरु
हिलो कुल्चिदै रमाउदै होलान
जीबन को रमाइलो गतिशील हुनुमै छ
उठ्नु दौडनु र अघि जानुमै छ
कहिलेकाहीं फूलको मनलाई आफ्नो मनसँग मिसाउनु
कहिलेकाहीं पहाडको हृदयसंग आफ्नो हृदय साट्नु
कहिले आफैं बतास भएर उड्नु
कहिले आफै फेवाताल भएर रुक्नु
र स्वयम्भूका आँखासंग आँखा जुधाउनु
फेरी मलाई मेरा भन्ज्यांग चौतारीहरुको याद आउछ
मेची किनारदेखि काली बगरसम्म सम्झना आउछ
कपास छरेजस्तै फुस फुस बर्षिरहेको पानी
छाँगो खसेजस्तै दर् दर् बर्षिरहेको पानी
आकाशले पोल्टामा कति साँच्न सक्यो होला बर्षात
कसले गर्जने होला त्यति साह्रो
कसले झिंकाउने होला चट्टांग बिजुली
कौशीमा उभिएर क्षितिजतिर टोलाऊदा
घामको अत्याचारले पिल्सिएका खेतहरु
बतासको क्रुरताले सुकेका सयपत्रीका ओठहरु
र काकाकुलवत प्राणीहरु
हात फैलाएर स्वागत गरिरहेछन् बर्षातको
निथ्रुक्कै चप्लक्कै भिजेर / थापिएर
कृतज्ञता दिईरहेछन बर्षातलाई
कर्कलाका पातहरुमा मोति बनेको पानी
छानाहरूबाट तप तप खसिरहेको पानी
फेरी मलाई मेरो जन्मथलोको सम्झना आउछ
फेरी मलाई आफ्नै पाखा पखेराको याद आउछ
No comments:
Post a Comment