Tuesday, July 26, 2011

मन/रंग

बतासको रंग नभएरै पनि आकाश रंगीन छ
पानीको रंग नभएरै पनि समुद्र रंगीन छ
हाम्रा मनहरुको पनि त रंग थिएन
अहिले रंग चढेको छ
रंगीन स्वप्नहरुको फागुन पोतिएको छ
घामका किरणहरु गुनासो गर्थे
छरिनुपर्दा, विखण्डित हुनुपर्दा
अल्झिएर बीच आकाशमा इन्द्रेणी हुनुपर्दा
मैले भनें -किरण पुन्ज !
तिमीसंग छर्न सकिने रंगहरु थिए, छरियौ
मसंग पोख्न मिल्ने मन छ अलिकति
यो पनि सग्लै अखण्ड हुनुपर्छ भन्थें म
बाँधिएर सीमा भित्र रहनुपर्छ भन्थें म
अहिले सडक भरि छरिएको छ
अहिले सहरभरि छताछुल्ल भएको छ
रंगहरु पनि मनहरु जस्तै अस्थिर हुन्छन
फूलबाट उछिटटिएर आँखाहरुमा सल्वलाउछन
क्यानभासबाट फुत्किएर चेहरामा अटाउछन्
र कहिले ओठहरूमा मुस्काउछन
भित्र भित्र घुसेर गाढा बन्छन
रंगहरु बाझिन्छन बिस्फोटन हुन्छ
रंगहरु मिसिन्छन प्रस्फुटन हुन्छ
मन जस्तै,
रंगहरु पनि सिमाना स्विकार्दैनन्
आयाम आयामहरुमा तरंगीएर
कहिले स्वर्णिम कहिले रक्तिम बन्छन
अहिले यतिबेला आँकुराहरुमाथि धावा बोल्दै
रंगहरुले फागुन ल्याएका छन्
रंगहरुले बसन्त बोलाएका छन्
फेरी एकपल्ट मनहरु रंगहरुसंग एकाकार भएका छन्
रंगहरु मनहरुसंग एकाकार भएका छन्

No comments:

Post a Comment