Tuesday, July 26, 2011

बादल र हामी

मलाई बादल औधी मनपर्छ
बादल छ र न आकाश जीवंत छ
रित्तो फुंग आकाश के आकाश !
सधैभरी कपाल दुखाउने घाम कति उराठलाग्दो !
फेरि संपूर्ण आकाश सूर्यकै मैदान पनि त होइन
यता घुम्छ, उता दगुर्छ
नाच्छ, गाउछ र खेल्छ बादल
बादल बालक जस्तै छ र न मलाई मन पर्छ
एक चोक्टा बादल पनि नभएको आकाश के आकाश ?
कुनै आकृति अनुभूति नै नभयको आकाश के आकाश ?
बादल मलाई जिस्काउछ
बादल मलाई गिज्याउछ
बादल हाम्रो ऐनाजस्तै भएकोले पनि मलाई मनपर्छ
त्यो दगुर्छ, मानौं हामी सबै मान्छे दगुरेका हौं
त्यो सल्बलाउंछ
मानौं हामी सबै सल्बलाएका हौं
त्यो चिच्याउंछ, त्यो गर्जन्छ
त्यो कहालिन्छ त्यो तर्सन्छ
ठीक हामी मान्छेहरूले जस्तै
हाम्रो जीवन, हाम्रो रोजाई
हाम्रो तड़पन, हाम्रो भोगाई
त्यही बादल जस्तै त हो नि, अरु के छ ?
बादल मलाई हँसाउंछ,
बादल मलाई रुवाउंछ
हाँस्दा उ आफैं चिह्रीएर हांस्छ
रुंदा उ आफैं पोखिएर रुन्छ
मलाई उस्को नियतमा शंका छैन र न मलाई बादल मनपर्छ
उस्ले लुकाउने के छ ?
उस्ले छिपाउने के छ ?
हाम्रा नियम, हाम्रा सम्विधान
हाम्रा उठान, हाम्रा अवसान
हाम्रो आरोह, अवरोह पनि त्यही बादलको चाल जस्तै लाग्छ
हाम्रा संतुष्ठी र बिद्रोहको पनि त्यही बादलको हाल जस्तै लाग्छ
बादल नै नभयको आकाश के आकाश ?
बादल नै नरुचाउने मान्छे के मान्छे ?
हेर त बादल हराईदिन्छ कहिलेकाहिं
लुकामारी खेल्छ
र फेरि अकस्मात् भयानक बनेर देखापर्छ
आफ्नो उपस्थितिलाई नबिर्साउन
बादल जन्म पुनर्जन्म लिन्छ
फेरि कहिलेकाहिं,
हाम्रा घरका धुरी छुन पनि आइपुग्छ
हाम्रा फांटबारिमा हरियाली सुम्सुम्याउन पनि आइपुग्छ
सुटुक्क खोंचहरुमा झरेर ऐंसेलु टिप्न मन गर्छ
बगर किनारमा रल्लियेर शालिग्राम खोज्न मन गर्छ
कोही दौड़दै भेट्न आइपुगे भने
आँखआंखै हराएर आकाशिन्छ
अंगालोमा नपस्दै फुस्कीइसक्छ
बादल जादूगर जस्तै भएकोले पनि मलाई मन पर्छ
निशब्द एकांत चाहर्ने
शंत जोगीजस्तै भएकोले पनि मलाई मनपर्छ
घरि घरि त यस्तो लाग्छ
हामी बादल जस्तै हौं,
बादल हामी जस्तै हो
बादल हामीजस्तै अस्थिर भएकोले पनि मलाई मनपर्छ
बादल हामीजस्तै निरर्थक र निराकार भएकोले पनि
मलाई औधी मनपर्छ

No comments:

Post a Comment