Tuesday, July 26, 2011

नदी-पीडा

अन्धकार रात्रिमा
खोल्सा काप्चाहरुमा
एक्लै सुसाउँदै बगिरहनुपर्दा
नदीलाई कत्रो पीडाबोध भयो होला
स्वप्नमय नीदलाई कुच्याउँदै
चिसो बतासमा
कोक्कीइदै हुर्रिनुपर्दा धकेलिनुपर्दा
नदीलाई कत्रो कष्ट भयो होला
अहो, मानिसले मसान बनाएका बगर किनारहरु
अहो हाडखोर र प्रेतात्माहरु !
उज्यालोको सुदूर आशाहरूले नछाडे पनि
कुनै सहारा बिनाको बेसहाय
बाफीइदै, बांगिदै, रास्ताहरू ढूढ़ल्दै
एकछिन पनि कही बिश्राम गर्न नपाएर
कस्तो नियति कुदिरहनुपर्ने
कस्तो परिणति खेदीइरहनु पर्ने
नजाने कुन गर्तमा पछारिनुपर्ने हो
अथवा कसको पोल्टोमा लम्पसार पर्ने हो
रुख हरु पनि मौन छन यतिबेला
पर्वतहरु पनि निद्रामग्न छन यतिबेला
आकाश कस्तो सितारा स्वप्नमग्न छ
एकलाश एकतमाश
ठोक्कीइदै बज्रिईदै
चोटहरु आलै बोकेर
अनिच्छापूर्वक तानिईरहनुपर्दा
नदिभित्र कत्रो हीनताभाष उठ्यो होला
एकपल्ट हरियाली खेतहरू भित्र पसेर बिचरण गर्ने मन हुंदो हो
एकपल्ट पर्बतका टाकुरै टाकुरा हेर्दै जाने रहर हुंदो हो
घना जंगलहरुभित्र
एक्लै सुस्केरा हाल्दै जान कसलाई मन पर्छ
एकपल्ट अग्लाइहरुबाट उडेर आकाश आकाशै कावा खान इच्छा हुंदो हो
पछि फर्केर पनि हेर्न नपाईने
एकछिन अडेर निदाउन पनि नपाईने
कस्तो बेफुर्सदी यात्रा -खाली हराउनाका लागि
मिसिन र बिलीन हुनकै लागि
आफ्ना इच्छाहरुलाई मारेर
अरुप्रति समर्पित हुनुपर्दा
नदीभित्र कत्रो बिद्रोह जन्म्यो होला
अन्धकार रात्रिमा
खोल्सा काप्चाहरुमा
एक्लै सुसाउँदै बगिरहनुपर्दा
नदीलाई कत्रो पीडाबोध भयो होला

No comments:

Post a Comment