Tuesday, July 26, 2011

तिमी / नदी

तिमी नदी किनारमा मिल्किएको ढुंगा शिवाय केही होइनौ, हुँदैनौ
तिमी त्यसको एकछिनको बहावको सहयात्री बाहेक केही होइनौ
आफ्नो लामो नित्य यात्रामा
आफ्नो सोझो घुमाउरो बहाइको क्रममा
सुटुक्क घचक्क त्यसले तिमीलाई उप्काउछ
र बगाउछ
तिमी एकछिन गुड्ने मात्रै हौ
र बगुन्जेल मात्रै तिमी आफुलाई भेट्छौ
तिमी गह्रौं छौ भने गड्गडाएर स्वर मच्चाएर बग्छौ
तिमी हल्का छौ भने बिस्तारै जसोतसो बग्छौ
र मूलधार पहिल्यायौ भने धेरै बेर बग्छौ
अक्कर किनार पर्यौ भने थोरै बेर बग्छौ
जे होस् बगुन्जेल तिमी आफुलाई पाउछौ
भ्रम/यथार्थ
थोरै यथार्थ / बेसी भ्रम
तर तिम्रो गुरुत्व पनि केही गह्रौं छैन-नदीको लागि
तिम्रो सुदूरता पनि केही टाढा होइन नदीको परिप्रेक्ष्यमा
तिमी सिर्फ नदीसंगै चल्ने गोटी शिवाय केही होइनौ
केही बर्षमै ढुंगा गोटी बन्छ
र गोटी-माटो, बालुवा
तिमी सृष्टि, यो अनन्त सृष्टिको एउटा कण शिवाय केही होइनौ
तिम्रो अर्थ छ भने पनि त्यहि एउटा कणको अर्थमा छ
नदी बगाउंदै लगेर एकछेउमा जरुर मिल्काउँछ तिमीलाई
तिम्रो मच्चाइले नदी अलिकति फराकिलो भयो भने
केही गोटीहरु त्यहिँ किनार छेउमा आएर अल्झेलान
तिम्रो गड्गडाईले नदी वरपर गुन्जियो भने
केहीबेर त्यसको प्रतिध्वनी बजिरहाला
र तिमीले नदी छोडेर, नदी मोडेर
अन्तैतिर बगाउन खोज्यौ भने पनि
जोशमा अठोटमा अलिकति कुलो कोतर्न सकौला
तर सम्झ
त्यो धेरै टाढा पुग्ने छैन
र त्यसलाई धेरैले पछ्याउने छैनन्
त्यो बिर्सीइनेछ बिस्तारै
त्यसैले तिम्रो साहस र अठोटको पनि कुनै अर्थ छैन
नदी स्वयम बिशाल र संतृप्त जस्तै छ
नदी स्वयम परिवर्तनशील पनि छ
नदी आफैं बाटो बदलेर बहन्छ त
तिम्रा कुलेसाहरुको के अर्थ ?
नदी आफैंसंग महासागर बोकेर बग्ने गर्छ
तिमीले एउटा नाउ चलाएर
यसमा पथमार्ग बनाउन सक्तैनौ
तिमीले एकमुट्ठी रंग छरेर यसलाई रंगाउन पनि सक्तैनौ
नदी स्वयम उदय अन्त हो
नदी स्वयम आदि अस्तित्व हो
तिम्रो सोचाईलाई तिमी जतिसुकै बिशाल बनाऊ
तिम्रा आँखाहरुलाई तिमी जतिसुकै च्यातेर हेर
या चिम्लेर हेर
नदी दुर्बोध्य र असिमित छ
तिमी योसंगै एकछिन बग्छौ र मिल्किइन्छौ
तिमी बहुन्जेल तिम्रो अनुभूति हुन्छ आफुलाई
बहुन्जेल नै तिम्रो अर्थ हुन्छ
तिमी सत्य भनेर बांच
तिमी असत्य अंगालेर बांच
या ति दुवै नचिनेर/चिन्नै नपाएर बांच
तिमी यथार्थमा अनर्थ छौ
बगुन्जेल तिमीले आफुलाई नै नदी भन्ठानेका हुनसक्छौ
बाचुन्जेल तिमीले आफुलाई नै सृष्टि भन्ठानेका हुनसक्छौ
साँच्चै भनुँ भने
तिमी बग्नु नबग्नु कुनै अर्थ छैन यसको लागि
नदी आफ्नै नियमले बगिरहन्छ
नदी आफ्नै संयोजनले बगिरहन्छ
विषका पोकाहरु पनि यसले बगाउँछ
अमृतका घैलाहरु पनि यसले बगाउँछ
नदी आँफु भने अप्रभावित छ त्यसबाट
नदी शिर्फ सबैलाई एकसमान बगाउँछ
र त्यही बग्ने क्रममा
एकछिन बगाएर बगरमा मिल्काउने
ढुंगा शिवाय तिमी केही होइनौ

No comments:

Post a Comment