काश मैले मेरा अनुभुतिहरुलाई कहिल्यै मूर्तरूप दिईन
त्यो सुन्दर चित्र
शायद त्यो पनि अमुर्त थियो
आफूभित्रको ताजा स्पष्टता
आफूभित्रको मुर्त रेखांकन
त्यो सधैं उस्तै रूपमा
क्यानभासमा अल्झिरह्यो
अहो त्यो बन्धक आकृति
अहो त्यो मोहक सुन्दरता
मैले आफ्नो अन्तस्करणलाई कतै कसैसामु उघारिन
आफैंसँग पनि शायद बलजफ्ती गरें कतिपल्ट
भुल्न खोजे झैं
मेट्न खोजे झैं
अहँ पाप हुन्थ्यो त्यो, निषेधकर्म
त्यो सुन्दर तस्वीर
जुन सुन्दरताका साथ त्यो कोरिएको थियो, त्यसलाई कसरी च्यात्न मिल्ला ?
त्यो सुन्दर अनुभव र आभास
त्यो कहिल्यै नष्ट होला ?
सुन्दरता मानिस के लाई भन्छन ?
त्यो आकृति हो या अनुभूति ?
त्यो आकार हो या अनन्त ?
मैले त्यसको अमूर्तता कहिँ कतै बहस गरिन
यसरी मैले आफैंसँग मीठो झूट बोकेर हिंडीरहेँ
अरुसंग बेसरोकार सङ्ग्लो झूट
कि म सधैं भरि त्यसलाई लुकाउन सकिरहूँ
कि म सधैंभरी त्यसकै भुमरीमा घुमिरहूँ
काश मैले आफूभित्र अंकित सुन्दरता
कहीं कतै प्रदर्शन गरिन
त्यो उद्गम थियो भने मेरै मनभित्र अनन्त फैलीरह्यो
त्यो उज्यालो थियो भने मेरै मनभित्र आवर्तन परावर्तन भैरह्यो
विना ब्याख्या, विना चित्रण
यथास्थितिमै
अहो त्यो सधैभरी सजीव भएर बसिरह्यो
अहो त्यो कसरी यतिन्जेल स्वप्नमय भैरह्यो
अहँ, मैले त्यसको सुन्दरतालाई कतै केहीसँग दाँजेर हेरिन
मैले त्यसलाई मुर्तरुपमा आफैले पनि कल्पना गरिन
कि सुन्दरता सपना मात्रै हो ?
कि सुन्दरता सम्झना मात्रै हो ?
मानिसहरु सपनाको स्वर्गको कुरा गर्छन
जिन्दगीले टक्क उभिएर सुन्छ
मानिसहरु यौवन र मधुरताको कुरा गर्छन
समयले आफ्नो हत्केला खोल्छ
सुन्दरता भने अमर छ- यो मर्दैन
जीवन र यौवनबाट मुक्त
हाम्रो इतिहासभन्दा पुरानो र
हाम्रो अस्तित्वभन्दा दीर्घायु छ
No comments:
Post a Comment