Tuesday, July 26, 2011

र फेरि यसैगरी.............

र फेरि यसैगरी
कब्रस्थान र गिर्जाघरहरु खोतलेर
आर्यघाटहरु खोस्रेर
मानिसहरु हाम्रा अस्थिहरु निकाल्ने छन्
र वल्टाइ पल्टाई तिनलाई सुम्सुम्याउने छन्
खबरदार,
तिनीहरु फेरी एकपल्ट एक्काइशौं शताब्दी पल्टाएर हेर्नेछन
क्रिया प्रतिक्रिया गराएर रशायनहरुसंग
हाम्रा अवयवहरुलाई
हाम्रा अवशेषहरुलाई
पिपेट ब्युरेटमा नापेर
वा विकर टेस्टट्युबमा राखेर
उमालेर, पकाएर, भुटेर, उर्ध्वपात गराएर
तिनीहरुका पोख्त औजारहरुले
हाम्रा एक एक विश्लेषणहरु पर्दामा उतार्ने छन्
र भन्नेछन -
अहो यी एक्काइशौं शताब्दीका हाम्रा पुर्खाहरु !
नपत्याए नपत्याऊ
तिनीहरु हामीभन्दा धेरै चलाख र सिपालु हुनेछन
तिनीहरु हामीभन्दा धेरै गम्भीर र प्रष्ट हुनेछन
र हुनसक्छ
तिनीहरुले हामीलाई धिक्कार्ने छन्
हामीलाई आफ्ना पुर्खा नभनेर आदिम मानब भन्नेछन
अथवा यो पनि भन्न हिच्किचाउने छैनन्
कि हाम्रो समय पनि जंगली युगकै विस्तार थियो
अहो हामीले गर्वसाथ पुकार्ने गरेको एक्काइशौं शताब्दी
अहो हामीले आधुनिक भन्ठानेको हाम्रो समय
हामीले जतनसाथ चलाएको हाम्रो सभ्यता र संस्कृति
कठै मानिसहरुलाई चिहान बनाउन पनि ठाउं मिल्दैन एक्काइशौं शताब्दीमा
उसले बाचुन्जेल आफुलाई कहाँ ठाउं पायो होला
उसले आफ्ना जहान बच्चालाई कहाँ बसायो होला
उसले आफ्ना आँसुहरु कहाँ खसायो होला ?
तिनीहरुले यो पनि फेला पार्नेछन
कि मानिसहरुले
आफैं आफ्नो स्मारक पनि बनाए एक्काइशौं शताब्दीमा
र आफ्नै नाममा नामाकरण गरे सडक बस्तीहरु
कसरी लुकाउन सक्छन मानिसहरु शक्तिपूजा को इतिहास
कसरी छिपाउन सक्छन मानिसहरु मस्त्य न्यायको इजलास
के होइनन् बम र क्षेप्यास्त्र-खुंडा खुकुरीकै परिस्कार ?
के होइनन् बिश्वयुद्धहरु मल्लयुद्धकै संस्करण ?
टेरेसाहरु अझै तिरस्कृत नै छन् एक्काइशौं शताब्दीमा
हाम्रा संततिहरू
हामीलाई करले पुर्खा मान्ने तिनीहरु
हाम्रा अस्थिका छुट्टाछुट्टै विश्लेषण गर्नेछन्
हाम्रा अबस्थाका छुट्टाछुट्टै निर्क्यौल निकाल्ने छन्
हाम्रा अस्तुहरु खुबै रुचिका बिषय हुनेछन तिनका लागि
तिनमा अंकित हाम्रा संकीर्णता देखेर तिनीहरु हाँस्ने छन्
हाम्रा भ्रम र कमजोरीको मजाक उडाउने छन्

अखबारमा छपाउने छन् कि
एक्काइशौं शताब्दीका मानिसहरु अक्सर सुस्त मनस्थितिमा थिए
एक्काइशौं शताब्दीका मानिसहरु अबुझ अहंकारी थिए
अधर्म गरेर धर्म बचाउन खोज्ने धर्म
विस्फोटकका बिछ्यौनामा निदाएर हुने सुरक्षा-अनुभूति
हाम्रा तर्कहरुलाई तिनले बेतुक देख्नेछन्
हाम्रा बिश्वासहरुलाई तिनले अधकल्चा सावित गर्नेछन्
र यो शताब्दीलाई
सभ्यतापूर्वको युग भनेर सम्झनेछन्


र फेरि यसैगरी
कब्रस्थान र गिर्जाघरहरु खोतलेर
आर्यघाटहरु खोस्रेर
मानिसहरु हाम्रा एक एक हिसाब बुझाउने छन्

No comments:

Post a Comment