Tuesday, July 26, 2011

ऊ एकाबिहानै परदेश हिंड्यो

ऊ एकाबिहानै परदेश हिंड्यो
अलिकति उज्यालो पनि नसांचेर आँखाभित्र
अलिकति दियालो पनि नबालेर कोठाभित्र
भालेको डाक बस्न नपाउंदै
कतै केही पाउने झिनो आशमा
अंध्यारो मै छोडेर आफ्नो गाउँलाई
ऊ बिहान हुन नपाउंदै परदेश हिंड्यो
बुकी फूल र गुरंस्लाई उसले माया मार्यो
लालुपाते र धुपी सल्लालाई उसले भुलिदियो
र एकवचन पनि नसोधी गयो
कि तिनीहरु आउँदो दिनमा कसरी फुल्थे
उसले सबै झैं आफुलाई अबोध सम्झ्यो
उसले सधैं झैं आजलाई खडेरी सम्झ्यो
र त्यसैले
अलिकति खेतबारीलाई कम्मरमा पोको पारेर
र प्रशस्त निराशाहरुलाई मनभित्र गाँठो पारेर
तीता मीठा सपनाहरु बोकेर
ऊ झिसमिसे पनि नहुँदै परदेश हिंड्यो
चिडिया चराहरु ब्युंझने तयारीमा थिए
शंख घण्टाहरु बज्ने तर्खरीमा थिए
र सारा गाउँ सुर्योदयसंगै अबिरयात्राको प्रतिक्षामा थियो
तैपनि उसले के के सम्झ्यो
र कता कता आफुलाई बहाएर
अरुहरुकै विगतलाई यात्रा सम्झेर
उज्यालो पनि हुन नपाउंदै परदेश हिंड्यो
यस्तै हो यो गाउँमा
उसकी आमाजस्तै आमाहरुका
धेरै धेरै सन्तानहरु यसरी नै परदेश गएथे
र कोही फर्केथे ताजा रगतलाई बुढयाईंसंग साटेर
कोही फर्केनन् नुनको साटो रगत तिरेर अरुलाई
बिचरी आमाहरु
सधैंभरी यस्तै पेन्सनहरुमा बाँच्ने गरेका छन्
यसपल्ट भने
जब ऊ जन्मेथ्यो
उसको अनुहारमा लाहुरको सपना देखिनथिन आमाले
उसको कमाइमा पेन्सनको बासी गन्ध पनि सोचिनथिन
सत्य होइन रहेछ तिनको सपना
आमासँग एकशब्द आशिर्बाद पनि नमागी
चुपचाप चुपचाप
आफु भित्र भित्रै कुंडिएर
आफु भित्र भित्रै चुँडिएर
खोज्नै नचाहेर आफूभित्र अलिकति पनि अस्तित्वको चहक
ऊ एकाबिहानै परदेश हिंड्यो
र धिक्कार हो
आफुलाई निरर्थक बाँचेको पाउने उसले
के सम्झ्यो होला
उसकी आमा रोइरहेको
उसको गाउँ उसलाई खोजिरहेको
र सिंगो दिन उसको अनुपस्थितिमा खल्लो मानिरहेको
आज उसको अनुपस्थितिमा पछुताइरहेको

No comments:

Post a Comment