Tuesday, July 26, 2011

पारि क्षितिजमा

पारि क्षितिजमा हजार सूर्यहरु दन्दनी बलिरहेछन
रात-रातभर जाग्राम बसेर
पोख्त कलाकारहरुले
पुरै आकाशलाई
मूर्त अमूर्त स्वप्नचित्रहरुले पोत्न खोजिरहेका छन्
र बुद्ध बसन्तको उर्बर धर्तीमा
दौडा-दौड चलिरहेछ साना नानीहरुको
बादलहरु मिथ्या साबित भएका छन्
जतिबेला
साँध जोडिएका हाम्रै छिमेकहरुमा
उज्यालोले यसरी पंखेटा फिंजाईरहेछ
त्यतिबेलै
अग्ला पर्खालहरुबीच ओझेल परेको मेरो बस्ती
थोत्रो घन्टाघरको लंगडो घडीमुन्तिर
चुपचाप निदाइरहेछ
रातभंदा गहिरो निद्रामा
आँखाहरु अझै तिल्मिलाएका छैनन् उज्यालोले
कोलाहलले कुनै असर गरेको छैन यसलाई
कता छन् कलम र कुचीहरु वास्ता छैन
कमसेकम
क्यानभास रंगिनु अघि मनहरु रंगिनु पर्ने हो
सिर्जनाहरु पोखिनु अघि मनहरु छताछुल्ल हुनुपर्ने हो
टाढा नै छन् यस्ता कुराहरु
स्वप्न देख्ने तयारीमा
बिपनासित घोप्टो परेर
अझै यो सुतिरहेछ
सुतिरहेछ

No comments:

Post a Comment