Tuesday, July 26, 2011

म्यानमार

हाम्रो छिमेकको अँध्यारो गाउँ हो म्यानमार
सधैं ओसेपिलो झरिलो ठाउँ हो म्यानमार
यत्रो सुर्य उदाईरहदा हाम्रो आकाशमा
म्यानमारको दिन उदासिन छ
दिउसै साँझ परेको छ म्यान्मारमा

म्यान्मारकी छोरी
नजरबन्द छन् युगौंदेखि
आततायीहरुको शिकार भएर पनि
आदर्शलाई बचाउँदै
स्वतन्त्रतालाई पर्खंदै
एउटा राक्षसी साम्राज्य एउटी अबला देखि तर्सिएको छ
धिक्कार राइफलहरू
धिक्कार ट्यांकरहरु
मानिसको विवेक तिम्रा भयाबहतालाई मान्दोरहेनछ
उनका दुई हात करोडौं हात भएर उठेका छन्
उनको एउटा मुटु हजारौं धुकधुकी भएर गुन्जेको छ
र उनका दुई आँखा लाखौं दियालोहरु भएर सल्केका छन्
यो युगकी बुद्ध हुन् तिनी
सत्य बचाएर बाँचेकी छन्
यतिबेलाको अफशोच,
म्यानमार हाम्रै छिमेकमा भएर पनि पीडा सांचिरहेछ
म्यानमार हाम्रै नजिकमा भएर पनि तिक्तता बाँचिरहेछ
बुटमुनि कुल्चिईएको छ म्यान्मारको बसन्त
राइफलले घोचिईएको छ म्यान्मारको यौवन
सत्ता उन्मादले अन्ध-मस्त क्रुरहरुले
म्यानमारको घाम छेकेका छन्
पराजितहरुले पगरी गुथेर संसारलाई नराम्ररी हँसाएका छन्
हाम्रा ताल र झरनाकी प्रशंशक
हाम्रा गौतम बुद्धकी अथक अनुयायी
पूज्य म्यान्मारकी छोरी !
हाम्रो माछापुछ्रे
म्यानमार सम्झेर धेरै धेरै गण्डकीहरु रोएको छ
हाम्रो फेवाताल
उज्यालो म्यानमारको प्रतिक्षामा धेरै धेरै छटपटाएको छ

No comments:

Post a Comment