सधैं उदासिनताका गीतहरु नगाऊ साहिंला दाइ
कहिलेकाहीं हाम्रा दृष्टि हरुमा आशा र अठोटका बिम्बहरू पनि देखिनुपर्छ
सधैं एक तमाशका झीना तारहरु नबजाऊ साहिंला दाइ
कहिलेकाहीं हाम्रा बगैंचामा
स्वर्णिम बिहानका आराधना घन्टीहरु पनि सुनिनुपर्छ
दिक्दारी र दुर्गतिका हाम्रा भाकाहरुले
हाम्रो मार्ग पनि त्यतै डोर्याउने व्यापक सम्भावना छ
आशंका र असफलताका जीर्ण आभाषहरुले
हाम्रो सौभाग्यका रेखाहरु पनि टेढिने त्रासद विडम्बना छ
किनभने भोलिका फूल आजका कोपिलामा ब्यक्त भएजस्तै
भोलिको आगमनले आजको रोदनमा स्वर भर्न के बेर ?
भोलिको परिणति आजको निराशामा काँध चढ्न के बेर ?
हरेक सुन्दर सम्भावनाहरुलाई ध्वस्त पार्न सक्ने दुर्बल तनावहरुले
त्यस्तै रागहरुमा आफ्नो बिगुल फुक्नसक्छ
भैगो छाडीदिउं अब कमजोरीहरु समक्ष समर्पण गर्न
र गाउन थालौं उत्साहका तुमुल ध्वनिहरू
सुरु गरौं बजाउन सक्षमताका थपडीहरु
र ढिलै भएपनि यौटा दरिलो सुरुवात गरौं
आफ्नै पैतालाहरु उठाएर दौडन अब ढिलो नगरौं
No comments:
Post a Comment