कठिनाइहरुसंग जुद्धा जुद्धा
एउटा योद्धा मर्छ त के भो
धर्ती सम्हाल्न उसका सपुतहरु जन्मदै गर्छन
विश्वासको मुटु बोकेर कसैले
आगोको भुंग्रोमा हाम्फाल्छ त के भो
उसको अभियानलाई रिले गर्ने हरु दौडदै गर्छन
हात बाँधेर त यहाँ के पो हुन्छ
जानु त एकदिन छंदै छ
एकछिनको रमाइलोले के नै हुन्छ
इतिहासमा अमरगाथा त परै जावस
एउटा दन्त्यकथा पनि कोर्दैन मान्छे
त्यसैले
मुटुमा धुकधुकी छंदा छंदै
पौरखहरु पोखेर छाड्नु पर्छ
काँधमा बल छंदा छंदै
बोझहरु बोकेर हिड्नुपर्छ
भोलिको अनिश्चय प्रतिकूलतालाई टार्न
आजको फुर्सदलाई सम्हाल्नुपर्छ
हत्केलामा दम छंदा छंदै
पश्चातापको ढोका बन्द गर्नुपर्छ
आँखामा तेज हुँदा हुँदै
जीवनको सार नियाल्नुपर्छ
सागर यात्रामा पौडदा पौडदै
यौटा खेलाडी डुब्छ त के भो
मोति खोज्नेहरु ऊ पछाडि लाममा उभिंदै गर्छन
कठिनाइहरुसंग जुद्धा जुद्धा
एउटा योद्धा मर्छ त के भो
धर्ती सम्हाल्न उसका सपुतहरु जन्मदै गर्छन
No comments:
Post a Comment