यसरी पटक पटक क्षत विक्षत भएको छ मेरो स्वाभिमान
प्रत्येक विश्वास र सहृदयताले धोखा भोगेका छन्
प्रत्येक पल्ट सद्भावनाका आँखाहरुले आँसु पिएका छन्
र मुट्ठी फिंजाउने न्याना हातहरु
चिसो कठान्ग्रिएर रित्तै फर्केका छन्
प्रत्येक पल्ट उज्यालोमा अग्रसर पैतालाहरुमा
काँडा बिझेका छन् र चस्केका छन् , दुखेका छन् ,
बेला कुबेलामा
किन यसरी पराजित भै रहेछन आशाहरु
किन यसरी पल्टाखाइरहेछन भावनाहरुले
सफा आकाश बाट पनि झरी बर्सिरहेछ यसरी
मित्रताहरु धर्मरायेका छन्
उदारताहरु कमजोरी बनेका छन्
सदाशयताहरु हास्यास्पद सावित भएका छन्
यसरी पटक पटक भाँचिएका छन् मेरा मान्यताहरु
कति युग जिउनुपर्ने हो सपनाहरु भाँचेर यसैगरी
कति घडी बाँच्नुपर्ने हो चकनाचुर पारेर आकांक्षाहरुलाई
प्रत्येकपल्ट आत्मीयहरुले पासो बाँधेका छन्
प्रत्येकपल्ट आफन्तहरुले जहर पिलाएका छन्
र मर्नु-बाँच्नुको दोसाँधमा उभ्याएर
तड्पाईरहेछन, जलाइरहेछन धेरैपल्ट
त्यसैले पटक पटक पहिरो चल्दैछ मेरा आदर्शहरुमा
पटक पटक क्षत विक्षत भएको छ मेरो स्वाभिमान
स्वयम आफु आफैलाई दुखेको भान हुन्छ
स्वयम आफु आफैलाई बिझाएको प्रतीत हुन्छ
र कहिलेकाहीं यस्तो लाग्छ
आफू बरु अरु कसैसंग साटिएर आउन पाए हुन्थ्यो
आफू बरु एकपल्ट पुरै काँचुली फेर्न पाए हुन्थ्यो
No comments:
Post a Comment