तिनीहरु जो मेरो भोकको कुरा गर्थे
तिनीहरु जो मेरो थकाइको चिन्ता गर्थे
र औंला समाएर रमाइला दन्त्यकथाहरुको जिद्दी गर्थे
तिनीहरु अजम्मरी फूलहरु थिए
तिनीहरु सृष्टिका सुन्दरतम संरचनाहरु थिए
तिनीहरुलाई लाख लाख आशिर्बाद छ
सुन्दरतम विगतलाई तितो बर्तमानसंग साट्नु पर्दा
मलाई कष्टसाध्य भैरहेछ यतिबेला
दूर कहीं एकान्तमा सन्तोषका आभाहरु छोडेर
एक्लै बाँच्नुपर्दा
मलाई छटपटी भैरहेछ यतिबेला
र त्यसले सीमा नाघ्न खोजिरहेछ
तिनीहरुको सम्झनाले मलाई सताईरहेछ
निसन्देह तिनीहरु मलाई माया गर्थे
मलाई आफ्नो ठान्थे र
भाव विभोर भएर मेरा कठिनाइहरुमा साथ दिन्थे
तिनीहरुलाई कोटी कोटी कामना छ
स्नेहको सागरलाई पर कतै थाँती राखेर
यो बिराट मरुस्थलमा एक्लै उभिंदा
मलाई जलन भैरहेछ यतिबेला
हृदयको दीपलाई अन्त कतै छाडेर
यो अँध्यारो रात्रीमा पाइला घिसार्दै गर्दा
मलाई अत्याहट लागिरहेछ यतिबेला
र म ब्याकुल हुन्छु तिनीहरुलाई सम्झंदा
तिनीहरु जो मेरो जिम्मेवारीलाई आफ्नो सम्झन्थे
तिनीहरु जो मलाई आफुलाई जत्तिकै विश्वास गर्थे
र फुर्की फुर्की मलाई पछ्याउँथे
तिनीहरु मेरो धुकधुकीमा गुन्जिरहने छन्
तिनीहरु मेरो यात्राहरुमा दीप झैं बलिरहनेछन्
तिनीहरुलाई अनगिन्ति सम्झनाहरु छन्
No comments:
Post a Comment