मलाई मान्छेहरुको मायाले औधि सताएको छ
जलन समेटेर सबैका घाउहरुको केन्द्रबाट
एकपल्ट जबर्दस्ती
यमराजको सिहांसनमा डढेलो लगाउन मन लागेको छ
तर खबरदार मान्छेहरु
तिमीहरु आफैं यमराज नबन्नु
अरुको जीवन कौडीमा नगन्नु
मान्छेलाई युद्ध कसले सिकायो ?
कसले घृणाको मन्त्र सुनायो
र किन
सुन्दर जलासयहरु आँसुले भरिए ?
मलाई मान्छेहरुको दुखले औधि रुवाएको छ
तड्पनहरु झिकेर सबैका मुटुबाट
एकपल्ट भयानकरुपमा
चित्रगुप्तको कार्यालयमा कम्पन पठाउन मन लागेको छ
तर खबरदार मान्छेहरु
तिमीहरु आफैं चित्रगुप्त नबन्नु
लहडमा अरुको भाग्यरेखा नरच्नु
मान्छेलाई विवेकहीन कसले बनायो
उंचा नीचा स्वार्थ कसले घुसायो
र
कमल छुन खोज्नेलाई क्याक्टस बिझायो ?
मलाई मान्छेहरुको अपूर्णताले औधि मुर्झाएको छ
रोषहरु बटुलेर सबैका असन्तोष मनबाट
एकपल्ट प्रलयकारी
पहिरो चलाउन मन लागेको छ ब्रम्हाजीको बस्तीमा
तर खबरदार मान्छेहरु
तिमीहरु आफैं ब्रम्हाजी नहुनु
स्वयम्लाई सृष्टिको मालिक नसम्झनु
मान्छेहरुलाई अहम कसले सिकाउँछ ?
रक्तलाई विषम कसले बनाउँछ
र किन
सिर्जनाले विनाशको निम्तो गर्छ ?
साँच्चै भनुं भने
मलाई मान्छेहरुको ब्यबहारले औधि हँसाएको छ
मलाई मान्छेहरुको सुझबुझले घाइते गराएको छ
No comments:
Post a Comment