Tuesday, July 26, 2011

फूलको मोहनी

शब्दहरुमा उतार्न नसकिने
स्वरहरुमा ढाल्न नसकिने
कति कम्जोर हो हाम्रो अभिव्यक्तिको प्रक्रिया
कति नाजुक हाम्रो भाषा
जो उज्यालो छ मेरो मनभित्र
म प्रकट गर्न सक्तिन
जो तृप्ति/अतृप्ति छ मेरो मनभित्र
देखाउन सक्तिन
स्मृति/विस्मृतिका ज्वारभाटा
मधुरता घुलित रोमान्चकता
त्यो संयोग, त्यो दृष्टि
त्यो मौनता, त्यो उत्कण्ठा
प्राचिन गाउँ जाने गोरेटोमा
खरका टुप्पासंग तानिंदै
तिनका हरिया डाँठमा बसाउने यौवन सुँघ्दै


हिडदै गर्दा बर्षातले चिप्लो पारेको बाटोमा
एउटा सुन्दर फूल
वतासको स्पर्शसंगै
मच्चिरहेको देखें
अहो त्यो मोहक परिवेश
अहो कस्तो उज्यालो छर्न सकेको
एउटै सानो फूलको गुच्छाले
कसको रहर होला यसको शालीनता
ईश्वरको मुठ्ठीबाट पोखिएर खसेको जस्तो
या उनैले सुटुक्क खसाई दिए जस्तो
या उनको संरचनाको हठात संयोग
मग्न नतमस्तक
म हेरिरहन्छु
थच्च भुइँमा बसेर
हेरेको हेर्यै हुन्छु
उकुसमुकुस भैरहेछ मनभित्र
उछलपुछल भैरहेछ
सखारैदेखि सांझसम्म कुरिरहन मन लाग्छ
समस्त रातको प्रतिक्षापछि
फेरि हेरिरहन मन हुन्छ
अहँ मानिस कहिल्यै अघाउँदैन सुन्दरतालाई ग्रहण गरेर
त्यसको आग्रहलाई कहिले बुझ्न सक्ला सम्पूर्ण रुपले ?
के मोहनी हो यो ?
कि त्यो फूल नै म भएको हुँ ?
पटक पटक आफैंलाई सोध्छु
हाम्रो उद्गम अन्त
त्यहि सुन्दरताको पोषण गर्नु त होईन ?
जो म बुझिरहेछु बुझाउन सक्तिन
जो आवेग/उद्बेग छ मनभित्र
देखाउन सक्तिन
प्रिय ईश्वर !
तिमीलाई धन्यवाद छ हर एक गुच्छा फूलको लागि
जो हाम्रो आँखासामु तिमीले फुलाउँछौ

No comments:

Post a Comment