झ्यालबाहिर
बोगेनभिलाको झ्यांगमा
झकमक्क फूलहरु फुलेका छन्
चिसो कान्तिपुर
झन झन कठान्ग्रिदै जाँदै छ
र भर्खर उदाएको कलिलो घाम
झ्यांगहरुले छेकिदिएका छन्
यो पुरानो घरको
मक्किएको काठको झ्यालमा मुन्टो अड्याएर
साँगुरो गल्लीतर्फ़ हेरिरहन्छु
भर्खरै काफल बेच्ने मानिस गयो
भर्खरै स्कुले बथान उफ्रिंदै झोला मिलाउदै कुदयो
भर्खरै सब्जिहरु बोकेर खर्पन्वाला गयो
र पछी पछी
मुर्दा बोकेर
मलामिहरुको एउटा हुल पनि गयो
सेतो कात्रो र कपाल मुडेका उसका छोराहरु ....
कान्तिपुर अझै चिस्सिंदै छ
मानिसहरुको कल्यांगबल्यांगसंगै जाडो अझै बिउँतिदै छ
यो बोगेनभिला
झन् झन् झ्यांगिदै गएर
झ्यालसम्म घाम आउन छेकेको छ
यसको यौबन आकांक्षालाई छप्काएर
मलाई घाम ताप्न पनि आँट आउँदैन
यस्को अतिक्रमणलाई 'यस्तै' सम्झेर
आँफु सन्तुष्ट रहन पनि मजा आउँदैन
No comments:
Post a Comment