Tuesday, July 26, 2011

शहर अजिंगर ओकल्दैछ

शहर अजिंगर ओकल्दैछ
बिस्तारै बिस्तारै
मंद-सुस्त
प्रसब पीडाले छटपटाईरहेको शहर
यसै भन्न सकिन्छ कुन दिन थला पर्ने हो
यसै भन्न सकिन्छ कुन दिन जुठो थाल्ने हो
मानिसहरु भन्छन
यसलाई सलाइन पानी चढाएर मात्रै पुग्ने छैन
शहर अजंगको बच्चा पाऊंदैछ
बोझ थामिनसक्नु भै सक्यो रे
भार खपिनसक्नु भै सक्यो रे
शहरको कोखमै न अटाउने
भद्दा र कुरूप
सुरसाको मुख वाएको
हाम्रा टेप र फित्ताहरुले नाप्न नसकिने साईजको
शहर भीमकाय जंगी संतान जन्माउदै छ
मातृ-दंशको श्राप परेकोले
त्यो जन्मदै
यो मातृ शहरलाई बेहोश पारेर जन्मनेछ
र फेरी शहर ब्युंझने नब्युंझने ठेगान हुनेछैन
हेर,
शहर असह्य पीडादायी अवसान कुरिरहेछ
पत्यारै नहुने गरी
यसरी अन्जानमै
शहर विवाहित भैसकेछ
शहर गर्भवती भैसकेछ
र बल्ल थाहा भयो
शहर हामी सबै माथि नंग्रा गाड्न सक्ने
पहलवान छोरो जन्माउदैछ
शहर अजिंगर ओकल्दैछ.......

No comments:

Post a Comment