Friday, March 9, 2012

पानी

जल !
तरल!
सरल!
अविरल!
बरफ हुनासाथ सबथोक गुमाउँछ
जम्नदेखि डराउँछ पानी

नसा-नसामा
रेसा-रेसामा
जरा-जरामा
एकसुर एकलब्य यात्रा चलाउँछ
हर कठिन मार्चपासमा रमाउँछ पानी

घुल्छ अपार
मिल्छ अपार
बग्छ अपार
बुँद-बुँदले सागर बनाउँछ
जस्तोसुकै आगो निभाउंछ पानी

 छ आकृति
न छ आकार
न स्वाद, न रंग
न कुनै अहंकार
कर्कलाको पातमा डेरा जमाउँछ
संसारलाई आफ्नो बनाउँछ पानी

जल-
कलकल !
सलबल !
टलपल !
अग्ला पहाडबाट छलांग लगाउँछ
न घबराउंछ, न पछुताउंछ पानी

No comments:

Post a Comment