आँखाभरी परिवर्तनका आशहरु संगालेर
एउटा रित्तो मुटुभित्र सपनाका छायाँहरु समेट्दै
म त नबोदित आकाश चियाउन हिंडेको मान्छे
फगत
ठेस लागेर लड्न शिवाय केही जान्दिन
हो अस्ति भर्खरै तुषारापात भएथ्यो फूलहरुमा
हिंजो सिंगै दिनभरि
असिना बर्सेछ कोपिलाहरुमा
म त फूलबारीमा सुसेली सुसाउन हिंडेको मान्छे
फगत
वैलायका फूलसंगै झोक्राउन शिवाय केही जान्दिन
कठै कत्रो स्नेह र श्रमले पालेको परेवा
हिंजो एक्का शी चीलले झम्टेर निलिदिएछ
नीरिह बचरा रुँदै कराउंदै अलापेको सुन्दा
म त स्वतन्त्रताको शंखनाद गर्न हिंडेको मान्छे
फगत बाजको ठुंगाई र चीलको गर्जाई शिवाय केही पाउँदिन
उ त्यो बाफिलो मरुभूमिको नीरस छातीमाथि
शीत झर्यो भनेको त विषका थोपाहरु खस्तै रहेछ
कुनै दिन आगोका डल्लाहरू बर्षन पनि बेर छैन
म त उजाड भूमीमा उर्वरा इतिहास पढ्न हिंडेको मान्छे
फगत आफ्नै अस्तित्व मेटिएको बाहेक देख्न सक्तिन
No comments:
Post a Comment